You are viewing the translated version of साक्षीको बकपत्र गराउने.

Section 40
साक्षीको बकपत्र गराउने
(१) साक्षीको बकपत्र गराई पाउँ भनी पक्षले निवेदनमा उल्लेख गरेका साक्षीहरुलाई पहिचान हुने कागज समेत हेरी यकिन गरी बकपत्रको लागि इजलास समक्ष पेस गर्नु पर्नेछ।
(२) साक्षीलाई बकपत्र गराउनुपूर्व अनुसूची-१३ बमोजिमको ढाँचामा सदस्य समक्ष शपथ गराई शपथको कागज मिसिल संलग्न गर्नु पर्नेछ।
(३) साक्षी बकपत्र गराउँदा वादी र प्रतिवादी दुवै पक्षको उपस्थितिमा गराउनु पर्नेछ।
तर साक्षी बुझ्न तोकिएको दिन अपरान्ह एक बजेसम्म पनि अर्को पक्ष उपस्थित नभए उपस्थित साक्षीको बकपत्र गराउन बाधा पर्ने छैन।
(४) साक्षीको बकपत्र गराउँदा साक्षीलाई अनुचित, असम्बद्ध वा बेइज्जत गर्ने वा झिझ्याउने किसिमका प्रश्न सोध्न अदालतले रोक लगाउन सक्नेछ।
(५) कुनै मुद्दामा प्रतिवादीको उपस्थिति वा अन्य कुनै कारणले कुनै साक्षीलाई बकपत्र गर्न अनुचित दबाब परेको वा पर्ने प्रवल सम्भावना छ भन्ने कुरा अदालतलाई लागेमा त्यस्ता साक्षीलाई श्रव्यदृष्य संवाद (भिडियो कन्फरेन्स) वा अन्य उपयुक्त माध्यमबाट बकपत्र गराउने गरी अदालतले आवश्यक व्यवस्था गर्न सक्नेछ।
(६) उपनियम (५) बमोजिम बकपत्र गराउँदा प्रतिवादी वा निजको कानून व्यवसायीको उपस्थितिका सम्बन्धमा अदालतले आवश्यक व्यवस्था गर्नेछ।
(७) बकपत्र गराउँदा अदालतले आवश्यकता अनुसार बन्द इजलास सञ्चालन गर्न सक्नेछ।
(८) नेपाली भाषा बुझ्न नसक्ने साक्षीको बकपत्र गराउँदा अदालतले दोभाषेको सहयोग लिन सक्नेछ।